निर्मला सुबेदी, विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारमा खटिने क्रममा कसैले ज्यान गुमाए ५० लाख राहत उपलब्ध गराउने घोषणा गरेको छ ।
मन्त्रिपरिषद बैठकले कोरोनाबाट संक्रमितको उपचारका क्रममा खटिँदा ज्यान गुमाए स्वास्थ्यकर्मी तथा कर्मचारीका परिवारलाई प्रदेश १ सरकारले ५० लाख रुपैयाँ राहत उपलब्ध गराउने निणर्य गरेको हो । तर हाल सम्म प्रदेश १ मा कसैमा पनि कोरानाको संक्रमण देखा परेको छैन् । कोरोना भाइरसको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न सरकारी वा निजी क्षेत्रका अस्पतालमा प्रदेश सरकारले खटाएका स्वास्थ्यकर्मी¸ सुरक्षाकर्मी¸ एम्बुलेन्स चालक¸ स्थानीय तहमा कार्यरत सबै कर्मचारी वा अन्य कुनै पदाधिकारीको मृत्यु भएका परिवा।लाई राहत स्वरुप रु.५० लाख प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । कोरोना उपचारमा खटिनेहरुको सुरक्षाको प्रत्याभूति गर्न यस्तो निर्णय गरिएको मन्त्री कार्कीले बताए । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन । मंगलबारसम्म प्रदेशका ९० जनाको स्वाब संकलन भएको छ भने ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकारले जनाएको छ । सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा प्रदेश सरकार वा सो मातहतका निकायले खटाएका स्वास्थ्य क्षेत्रका जनशक्तिहरूलाई नेपाल सरकारले निर्धारण गरे बमोजिम दोहोरो नपर्ने गरी प्रोत्साहन भत्ता उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
अहिले प्रदेशमा ९ जना आइसोलेसनमा छ्न् भने ६१३ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २ हजार ८ सय ८५ जना होम क्वारेन्टाइनमा रहेको जानकारी गराएको छ ।