बिराटनगर । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उनलाई सपथ ग्रहण गराएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए । जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हालेका छन् । उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए ।
कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् । २९ औं प्रधानन्यायाधीश बनेका जबराले तीन वर्ष ११ महिना प्रधानन्यायाधीशको रूपमा काम गर्नेछन्। उनी सर्वोच्च अदालतको उच्च तहमा पुग्ने राणा परिवारका दोस्रो हुन्। यसअघि २०५३ सालमा त्रिलोकप्रताप राणा सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनेका थिए। उनले २०५३ फागुन ४ मा प्रधानन्यायाधीशमा नियुक्त भएर २०५४ असोज १ सम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रुपमा काम गरेका थिए।