बीबीसी । गुगल कम्पनीले पछिल्लो दुईवर्षमा यौन दुर्व्यवहारमा संलग्न आफ्ना १३ वरिष्ठ अधिकारीसहित ४८ जनालाई जागिरबाट बर्खास्त गरेको छ । गुगलका मुख्य कार्यकारी अधिकृत सुन्दर पिचईले एक वक्तव्य दिँदै दुर्व्यवहारका घटनालाई लिएर आफ्नो कम्पनीले यो कडा कदम चालेको हो ।
न्यूयोर्क टाइम्सले एन्ड्रोइडका निर्माता एन्डी रुबिनलाई यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदा गरिएको भन्ने प्रश्न उठाएपछि गुगलका प्रमुख कार्यकारी अधिकृतले त्यसको जवाफ दिने क्रममा पछिल्लो जानकारी बाहिर ल्याएका हुन् । सो अखबारले रुबिनका प्रवक्ताले उक्त कुरा अस्वीकार गरेको समेत समाचारमा उल्लेख गरेको थियो । रुबिनले सन् २०१४मा कम्पनी छोडेका थिए । न्यूयोर्क टाइम्सका अनुसार त्यतिबेला उनलाई शानदार फेयरवेल दिइएको थियो । सुन्दरले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्न ज्यादै नै कष्टकर रहेको र गुगल यस खालका मामिलामा गंभीर रहेको जनाएका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तत्पर रहेको समेत जनाएका छन् ।
उनले भनेका छन्,‘‘ हामी यो सुनिश्चित गर्न चाहन्छौं कि हामीले यौन उत्पीडन जोडिएका हरेक आरोपको जाँच गरेका छौं र जाँच गरिएपछि हामीले यो फैसला लिएका हौं ।’’