विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्।

सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत असर परेको पाइएको छ। ‘कोशीका लगभग आधा डल्फिनको छालामा संक्रमण भएको देखियो, डल्फिन अनुसन्धाता शम्भु पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२ वटा डल्फिनको चुच्चो ‘ज’ समेत भाँचिएको भेटियो।’

उहाँका अनुसार ५ वटा डल्फिनको छालामा संक्रमण देखिएको छ भने २ वटाको माथिल्लो र मुनिको चुच्चो भाँचिएको छ। अध्ययन कोशी ब्यारेजदेखि करिब २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। बढ्दो मानवीय गतिविधि र अवैधरूपमा माछा मार्न प्रयोग हुने विभिन्न किसिमका जाली र उपकरणको प्रयोगका कारण डल्फिनको विचरण क्षेत्र साँघुरिएपछि यस्तो घटना बढेको पौडेलले बताउनुभयो। ‘चुच्चोको कारणले आफ्नो समूहलाई आवाज निकालेर सञ्चार गर्ने डल्फिनले चुच्चोकै कारणले आफ्नो मुख्य आहारा (माछा)को शिकार गर्ने ‘सेन्सर’को काम समेत गर्छ, तर प्राकृतिक विचरण क्षेत्रमा अतिक्रमण बढेपछि कोशीका डल्फिन संकटमा परेका छन्।’ –उहाँले भन्नुभयो।

पौडेल नेतृत्वको एक साता लामो प्रत्यक्ष अध्ययन⁄अवलोकनमा हङकङका विज्ञ ग्रान्ट अवेलसहित स्थानीय बासिन्दाले सघाएका थिए। सो अध्ययन कोशी व्यारेजदेखि २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक पौडेल मुलुकका प्राकृतिक बासस्थानमा रहेका ग्याङ्गेटिक डल्फिनको विचरण क्षेत्र र डल्फिनको आनीबानीबारे अमेरिकाको युनिभरर्सिटी अफ एरिजोनाबाट विद्यावारिधी गरिरहनुभएको छ।

यसअघि गत भदौमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन), राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायले गरेको राष्ट्रिय स्तरको गणनामा कर्णालीको मोहना, सप्तकोशी र नारायणीमा ४ दर्जन बयस्क डल्फिन फेला परेका थिए। त्यसमध्ये कोशी व्यारेजदेखि भारतीय सीमा क्षेत्रको गोबरगाढाको ७ किलोमिटर दूरीभित्र १ दर्जन डल्फिन फेला परेका थिए। साभार: नेपाल समाचारपत्र