बिराटनगर । कोशी प्रदेशका पूर्वमूख्यमन्त्री केदार कार्कीले सामाजिक सञ्जाल फेसबुकमा प्रेस चौतारी प्रदेश अध्यक्ष अविजाल विष्टलाई लक्षित गरी लेखेको स्ट्याटस प्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङको म्यासेन्जर ग्रुपमा मिति २०८१ भदौ २३ गते प्रदेश अध्यक्षले लेखेको विषयलाई अतिरञ्जित बनाई पदीय जिम्मेवारी भुल्दै पूर्वमुख्यमन्त्री केदार कार्कीले लेखेको स्ट्याटसलाई हामीले सङ्गठन माथि गरेको प्रहार ठानेका छौ । प्रदेश अध्यक्ष विष्टले ग्रुपमा लेखेको सन्दर्भ र विषयलाई बुझ्दै नबुझी हचुवाको भरमा पूर्वमुख्यमन्त्रीले रातको समयमा स्ट्याटस लेख्नु र उज्यालो नहुँदै हटाउनुले समग्र प्रेस जगतकै अपमान गरेको हाम्रो सङ्गठनको ठहर छ । नेपाल पत्रकार महासङ्घ मोरङको फेसबुक ग्रुपमा अग्रज पत्रकार विनोद भण्डारीका बुवाको स्वर्गारोहण प्रति प्रदेश अध्यक्ष विष्टले बिहान ८ बजेर १० मिनेटमा गरेको टिप्पणी र लामो समयदेखि रोकिएको कोरोना बिमाको भुक्तानी पाएको विषयमा सबैलाई बधाई दिएका थिए । मुख्यमन्त्रीसँग कुनै साइनो र सम्बन्ध समेत नरहेको विषयमा समेत पूर्व मुख्यमन्त्री केदार कार्कीले पत्रकारहरूको मात्रै ग्रुपमा अनधिकृत रूपमा छिरी कसले के भन्छ ? र के लेख्छ ? भनेर चियोचर्चा गर्ने काम प्रति हामी घोर निन्दा र भर्त्सना गर्छौ । पूर्वमुख्यमन्त्रीलाई कसैले लेखेका बिषय र टिप्पणीमा चित्त नबुझे कानुनी कारबाहीमा जान पाउने कुराको समेत हेक्का नरहेको यसअघि पनि उनले गरेका हर्कतले देखाएको छ । उनले यसअघि पनि समाचार लेखेकै आधारमा पत्रकारलाई बलात्कारको मुद्दा लगाउने सम्मको गैर जिम्मेवार र धम्कीपूर्ण अभिव्यक्ति दिँदै आएकाले पूर्वमुख्यन्त्री केदार कार्कीलाई सच्चिन हामी चेतावनी दिन्छौ । अत ः प्रदेश अध्यक्षप्रति सामाजिक सञ्जालमा गरेको गाली बेइज्जतीको विषयमा २४ घण्टा भित्रमा लिखित र सार्वजनिक रूपमा माफी नमागे कानुनी कारबाहीमा जाने समेत जानकारी गराउँदछौ ।